रसुवागढी नाका पुनः ठप्प

समाचार

चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात पुनः प्रभावित भएको छ ।

कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सिमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएछन्, दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले ठप्प छ’ भन्सार प्रमुख रेग्मीले भने ।

चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जनकारी आएको रेग्मीले बताए । ‘ल्होसार मनाउन चिनियाँहरु आफ्नै घर फर्केका र आउन त्यतीका समय लाग्न सक्ने जानकारी भन्सार अधिकारीले गराएका छन्,’ उनले भने ।

पछिल्लो एक वर्षयता कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ । चीनले एकतर्फी नाका सञ्चालन गरेको छ । चीनले अहिले दैनिक आफ्नो ५ वटा गाडीमा नेपाली भूभागमा सामान झारिदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्रीहरू भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्र्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।