अब एक घण्टामै केरुङ पुग्न सकिन्छ : प्रधानमन्त्री

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सुरुङ मार्गमा प्रवेश गरिसकेको बताउँदै एक घण्टामा केरुङ–काठमाडौं गराइने उद्घोष गरेका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (केपी समूह) ले राजधानीमा आयोजना गरेको बागमती स्तरिय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘अहिले गरिबलाई जनतालाई माया गर्ने सरकार छ। तपाईंहरूलाई हिजो यहाँ आउन नेपाल बन्द गरियो आज बाटामा खाल्टा खनियो’, उनले भने, ‘कतिपय ठाउँमा बम राखेर विप्लव लेख्ने काम भयो। त्यसका बावजुद इतिहासकै सबैभन्दा ठूलो जनसभा हो यो।’

उनले विकासको गति लिएका बेला रेल र सुरुङमार्ग तीव्र गतिमा बनिरहेको बताए। ‘अब केही दिनमा जनकपुर-जयनगर रेल चल्दैछ। पूर्व-पश्चिम रेल निर्माण सुरु भइसकेको छ’, उनले भने, ‘अब केरुङ पनि एक घण्टामै पुग्न सकिन्छ। हामी राम्रा बाटा बनाउँदैछौँ।’

उनले पार्टी एक हुन्जेल कामै गर्न नदिएको बताए। ‘पार्टी एक हुन्जेल सरकारलाई कामै गर्न दिएनन्’, उनले भने, ‘तीन वर्षसम्म आयोग बन्न सकेनन्। तर दुई चारजना मानिस छाडेर गएपछि आयोगहरू  बने, अब दनादन काम हुन थाल्छ।’