उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । शुक्रबार संघीय राजधानी काठमाडौंमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सूर्य चिह्न पनि आफ्नो हुने दाबी गरेका छन् ।
‘दाहाल-नेपालको सत्ता स्वार्थका कारण देशमा राजनीतिक अस्थिरता चुलिएको छ’, उनले नारायणहिटी सङ्ग्रहालय अगाडि आयोजित जनसभालाई शुक्रबार सम्बोधन गर्दै भने, ‘हामी जुनसुकै प्रतिकूलतासँग जुधेर देशलाई राजनीतिक स्थायित्वको बाटोमा लैजाने छौँ।’
दाहाल-नेपालप्रति कटाक्ष गर्दै पोखरेलले उनीहरु कसैको मृत्युमा जीवन खोज्ने र त्यसलाई साथ दिने कुण्ठा र इर्श्यामा रमाउनेहरु भएको बताए। ‘हिजोदेखि कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृत्ति हावी हुँदै आयो। उनले अरुको मृत्युमा जीवन खोजिरहे’, पोखरेलले भने, ‘प्रचण्डको त्यो प्रवृत्तिलाई साथ दिन कुण्ठा र ईर्श्यामा बाँचेका माधव नेपाल प्रवृत्ति पनि मिसिए। त्यहीकारण आज देशमा राजनीतिक अराजकता र अस्थिरता बढाउन खोजियो । यस्ता अराजक गतिविधिलाई हामी कुनै हालतमा असफल बनाएर छाड्छौँ।’
बिहीबार दाहाल-नेपाल समूहले गरेको आमहड्तालका क्रममा भएका भौतिक क्षतिबाट पीडितलाई सरकारले दिने वाचा पनि उनले गरे। ‘बन्दमा नाममा अराजकहरुले एकजना मजदुरको ट्याक्सी जलाएछन्। तर त्यो ट्याक्सीको क्षतिपूर्ति सरकारले दिनेछ’, उनले भने, ‘नेपाल बन्दको नाममा जनतालाई दु:ख दिनेहरु अराजक हुन्। त्यस्तो अराजकताको म भर्त्सना गर्छु। हिजो ट्याक्सी चलाएर जीविका चलाउनेमाथि हमला गरियो। म मन्त्रीका रुपमा यसै सभाबाट सरकारले यसको क्षतिपूर्ति प्रतिवद्धता जनाउँछु।’