साढे ६ करोड रुपैयाँ राजस्व छली गरेको आरोपमा सुलभ ट्रेडका प्रमुखविरुद्ध मुद्दा दायर

अर्थ उद्योगी

झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने बारा विश्रामपुरको सुलभ ट्रेड कन्सर्नका प्रमुख अमिरी ठाकुरविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

ठाकुरविरुद्ध ६ करोड ५२ लाख १३ हजार रुपैयाँ बिगो दाबी गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनले सुलभ ट्रेड कन्सर्नमार्फत वस्तु तथा सेवा खरिद नै नगरि झुट्टा तथा नक्कली बिक्री बीजक बनाएर २०६८ सालदेखि २०७५ सालसम्म राजस्व छलेको विभागले जनाएको छ ।

अमिरी ठाकुरले दुई करोड १५ लाख ८८ हजार भ्याट र चार करोड ३६ लाख २५ हजार रुपैयाँ आयकर छलेको विभागले जनाएको छ । विभागले मूल्य अभिवृद्धिकरतर्फ २ करोड १५ लाख रूपैयाँ र आयकरतर्फ ४ करोड ३६ लाख रूपैयाँ छली गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो।