प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतिलाल दुगड नियुक्त

अर्थ

पूर्व उद्योग राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । ओलीले केही समय अघि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडलाई मन्त्री पदबाट हटाएका थिए ।

मन्त्री हटाइएको दुगडलाई पुस २९ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । नेकपा भित्रको विवादले पार्टी फुटको अवस्था आएपछि दुगडलाई राज्य मन्त्रीबाट हटाएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए । सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्ने छन् । । उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाका स्थानमा नियुक्त भएका हुन् । मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिश गर्ने विशेष सल्लाहकार दुगडले बताए ।

“औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयातनिर्यात सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहने छ”, निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीले स्पष्ट गरे ।