राजस्व छलीका घटना धमाधम बाहिरिँदै

अर्थ

संसद् विघटनपछि मुलुकमा देखिएको राजनीतिक अस्थिरताको मौका छोपेर अहिले विभिन्न व्यापारिक फार्मले राजस्व छली गर्ने क्रम बढाएसँगै १ अर्ब ३४ करोड ९६ लाख रुपैयाँ राजस्व छलीको घटना सार्वजनिक भएको छ ।
राजस्व छल्नेविरुद्ध आक्रामक कारबाही थाल्दै आइरहेको राजस्व अनुसन्धान विभागले १ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ राजस्व छली गर्नेविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेसँगै एकै दिन त्यति ठूलो परिमाणको राजस्व छलीको घटना सार्वजनिक भएको हो ।

विशेष अनुसन्धानपछि यति धेरै राजस्व छलीमा संलग्न आरोपित विभिन्न व्यावसायिक फार्मका सञ्चालक एवं व्यक्तिविरुद्ध छली भएको राजस्वको परिमाणबराबरकै बिगो असुल गरी जरिमाना र कैद सजायको मागदाबीसहित दुइटा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर (भ्याट) बीजक प्रयोग गरी १ अर्ब २२ करोड २० लाख १९ हजार १९ रुपैयाँ राजस्व छली गर्ने विभिन्न १३ वटा फार्मविरुद्ध विभागले मुद्दा दायर गरेको छ । बाराको सिमरास्थित न्यु सयपत्री इन्टरप्राइजका प्रोपाइटर विवेक मगरसहित १३ जना सञ्चालक तथा मुख्य करोबारी मनिष कुमारसहित १५ जनाविरुद्ध राजस्व छली भएकै रकमबराबरको बिगो कायम गरी कानुनी कारबाहीका लागि अदालतमा मुद्दा दायर गरिएको हो ।

विभिन्न १३ वटा फार्मका सञ्चालक तथा मुख्य कारोबारी मनिष कुमारले कमजोर आर्थिक अवस्था भएका मजदुरहरू र विभिन्न व्यक्तिको नाममा दर्ता भएका १३ वटै फार्मबाट राजस्व छली गरेको पाइएको विभागले जनाएको छ ।