उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

उद्योगी ठुला

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई महाप्रबन्धमा नियुक्त गरेको हो ।

उदयपुर सिमेन्टमा महाप्रबन्धक पद खाली भएको २ बर्षपछि कम्पनीले नेतृत्व पाउने भएको छ ।

उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेले नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै २०७५ साल पुस २४ गतेदेखि उक्त पद खाली थियो ।

उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित याे उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित छ।

त्यसयता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग सचिव चन्द्रकुमार घिमिरेको तेतृत्वमा एक कमिटी गठन गर्दै सो पदमा पदपूर्तिका लागि आवेदन माग गरेको थियो। उक्त कमिटीले महाप्रबन्धक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

सोही आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई महाप्रबन्धक नियुक्त गरेको हो। न्यौपानेलाई ४ वर्षका लागि नियुक्त गरिएको हो।