सुरक्षा विधि अपनाउँदै १ माघदेखि पर्यटकका लागि घान्द्रुक खुल्ने , पिसिआर रिपोर्ट नचाहिने

पर्यटन

कोरोना संक्रमण नियन्त्रण गर्न सरकराले लकडाउन गरेसँगै बन्द रहेको पदयात्रा पर्यटनका लागि उत्कृष्ट गन्तव्य पर्यटकीय गाउँ घान्द्रुक माघ १ गतेदेखि खुला हुने भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने पर्यटकीय गुरुङ गाउँ कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते लगाएको लकडाउनसंगै बन्द थियो ।  लकडाउन खुला रहे पनि पर्यटकका लागि बन्द रहेको घान्द्रुक ९ महिनापछि संचालनमा आउन लागेको हो ।अन्नपूर्ण संरक्षण क्षेत्रका अन्य पर्यटकीय पदयात्रा क्षेत्र खुल्दै जाने क्रममा घान्द्रुक पनि स्वास्थ्य सतर्कता अपनाएर खोल्ने निर्णय गरिएको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले जानकारी दिए ।

स्वास्थ्यका सबै मापदण्ड पूरा गर्नुका साथै पुगेका पर्यटकलाई समस्या भए आइसोलेसनको व्यवस्था गरिएको उनको भनाइ छ । ‘स्वास्थ्यसुरक्षाका लागि सबै उपाए अपनाएका छौँ । एकजना नर्ससहित सुविधासम्पन्न आइसोलेसनको समेत व्यवस्था गरेका छौँ,’ उनले भने । उक्त क्षेत्र खुलेसँगै पर्यटक घान्द्रुकसहित घोरेपानीसम्म पुग्न सक्नेछन् । पत्रकार भेटघाट कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय गन्तव्य घान्द्रुक खुल्नु खुसीको विषय भएको बताए । पर्यटकीय आऊ भन्ने तर, पर्यटकीय क्षेत्र नखुल्दा समस्या रहने भन्दै उनले घान्द्रुक दुई÷तीन महिनाअघि नै खोल्नुपर्नेमा ढिलाइ भएको    बताए । हामीले पर्यटक आऊ भनिरहँदा पर्यटकीय क्षेत्रहरू बन्द छन्, ‘पर्यटकीय क्षेत्र बन्द गरेर पर्यटक बोलाउनु भनेको बाटो छेकेर आऊ भनेजस्तै हो, त्यसैले यी क्षेत्र खुल्नुपर्छ, घान्द्रुक क्षेत्र खुल्दा हामी खुसी छौँ ।’ उनले अन्य पर्यटकीय क्षेत्र पनि खुलाउँदै लैजानुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले अब पर्यटकीय गन्तव्य क्षेत्र खुलाउँदै जानुपर्ने बताए । आफूले पहिलेदेखि नै घान्द्रुक खोल्न आग्रह गरिरहेको भन्दै ढिलै भए पनि घान्द्रुक क्षेत्र खुल्दा पर्यटनमा उत्साह थपिने विश्वास व्यक्त गरे ।

अन्नपूर्ण आधार शिविर पदयात्रामा जाने पर्यटकलाई छोमरोङबाट माथि लाग्न अनिवार्य पिसिआर रिपोर्ट चाहिने छोमरोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर गुरूङले बताए। घान्द्रुकसम्म घुम्नका लागि भने पिसिआर रिपोर्ट चाहिँदैन।स्थानीय पर्यटन व्यवसायीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डका साथै स्थानीय मापदण्ड पनि बनाएका छन्।उनीहरूले घान्द्रुक घुम्न गएका पर्यटकलाई ज्वरो आएमा उपचारका लागि पोखरा पठाउने व्यवस्था मिलाएका छन्। पर्यटन व्यवस्थापन समितिले पोखरा पठाउने अवस्था नहुँदा गाउँमै आइसोलेसनमा राखेर उपचारको व्यवस्था मिलाएका छन्। यसका लागि उनीहरूले गाउँमै आइसोलेसन बनाएका छन्। यसका लागि उनीहरूले गाउँको एउटा घरलाई मासिक ३० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएका छन्।