बजारमा खाने तेल र कुखुराको मासुको मूल्यमा मनपरी ढंगले बृद्धि, सरकारी निकाय मौन

उद्योगी ठुला मझौला

कोरोना संकटले उपभोक्ताको क्रयशक्ति कमजोर भइरहेको बेला भान्सामा दैनिक उपभोग हुने खानेतेलको उच्च मूल्यवृद्धि भएको छ।

दसैँ तिहारजस्तो चाडपर्वमा पनि मूल्यवृद्धि नभएको खानेतेल पछिल्लो एक हप्तामा उच्च दरमा बढेपछि उपभोक्ताको भान्सा झन् महंगिने भएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको निहुँमा नेपाली व्यवसायीहरुले खानेतेलको उच्च मूल्यवृद्धि गरेका हुन्। खुद्रा व्यवसायीहरुका अनुसार पछिल्लो एक हप्तामा खानेतेलको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म वृद्धि गरिएको छ। विदेशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा तेल उत्पादन गर्ने कम्पनीहरुले नै तेलको मूल्यमा उच्च वृद्धि गरेपछि त्यसको असर खुद्रा बजारमा परेको छ।

खुद्रा व्यवसायी महासंघका पूर्वअध्यक्ष पवित्रमान वज्राचार्यले होलसेलमै खानेतेलको मूल्यवृद्धि भएको बताए। ‘समग्रमा हेर्दा खानेतेलको मूल्य उपभोक्ताले प्रतिलिटर २० रुपैयाँसम्म बढी तिर्नुपर्ने भएको छ’, उनले नेपालखबरसँग भने, ‘विदेशबाट कच्चा तेल महंगो भएको हामीलाई जानकारी आएको छ।’

तर पछिल्लो एक महिना अगाडिसम्म सामान्यरुपमा रहेको बजारमा दशैं तिहारपछि अत्याधिकरुपमा मूल्य बढ्दै गएको छ । उपभोक्ताले दैनिक उपभोग गर्ने वस्तु खाद्यान्न, खाने तेल र मासुको मूल्यबृद्धि हुँदै गएकाले उपभोक्ताहरु मारमा परेका छन् । अहिले नेपाली बजारमा सोयाबिन, तोरी र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले बढेको छ । एक महिनाको समयमा यी तेलको मूल्य प्रतिलिटर ५० देखि ६० रुपैयाँसम्मले वृद्धि भएको हो । दशैंतिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल अहिले बजारमा १७० देखि १८० रुपैयाँसम्म पूगेको छ । यस्तै, बजारमा प्रतिलिटर १६० रुपैयाँसम्म पर्ने सूर्यमुखि तेलको मूल्य २ सय रुपैयाँ भन्दामाथि पुगेको खुद्रा व्यापारीहरुले बताएका छन् ।

खुद्रा व्यापारीहरुका अनुसार बजारमा सोयाविन, सूर्यमुखिको जस्तै तोरीको तेलको मूल्य पनि प्रतिलिटर २० रुपैयाँभन्दा बढीले बढेको छ । होलसेलबाट नै तेलको मूल्य बढेर आएकाले आफूले त्यही अनुसार बिक्रि गर्दै आएको महालक्ष्मी नगरपालिकाका खुद्रा व्यापारी राजेश श्रेष्ठले बताए । उनका अनुसार प्याकेटमा पुरानै मितिमा मूल्य लेखिएको छ तर होलसेलले नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्न मुस्किल भएको छ । यसरी तेलको मूल्य एक महिनाको बीचमै प्रतिलिटर ५० रुपैयाँ भन्दा बढीले बृद्धी भएकाले उपभोक्ता मारमा परेका छन् । बजारमा व्यापारीहरुले मनलाग्दीरुपमा मूल्यबृद्धी गर्दा पनि नियमनकारी सरकारी निकाय भने मौन रहेको छ । बजारमा तेलको मूल्य अचाक्ली बढेर उपभोक्ता मारमा परेको अवस्थामा पनि सरकारी अनुगमन प्रायः शुन्य हुनु सरकारी निकायको लापरबाही रहेको देखिन्छ । अनुगमनकारी निकायहरु चाडपर्व र संकटको घडीमा मात्रै बजार अनुगमनका निस्कने भएकाले अन्य समयमा व्यापारीहरुले मौका छोप्ने गरेका छन् ।

अहिले तेल उत्पादनमा, आयात निर्यातमा कुनै समस्या छैन तर बजारमा व्यवसायीहरुले कोरोना भाइरसलाई बेचेर व्यापार गर्ने प्रवृति बढेकाले मूल्यबृद्धि भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताए । उनका अनुसार अनुगमनकारी निकाय मौन बसेको पनि भन्न मिल्दैन तर अनुगमन गर्ने तरिका डेटा वेसमा भएको छैन । उनले भने, ‘कोरोना महामारीपछि सबै व्यवसायीहरुले कोरोनालाई देखाएर कमाउ धन्दामा लागे तर सरकारले यसको न्युनिकरण गर्न सकेको छैन ।’

सरकारले वास्ता गरेन
यसरी महंगो भइरहेको बेलामा पनि सरकारले भने कुनै चासो दिएको छैन। बजारमा दुई रुपैयाँ बढाएको भनेर खुद्रा व्यवसायीलाई समात्ने सरकारले ठूला व्यापारीलाई भने साथ लिएको खुद्रा व्यवसायीहरुको आरोप छ।

बजारमा अन्य खाद्यान्नको मूल्यमा पनि वृद्धि भएको छ। कोरोना संक्रमण बढेपछि भएको लकडाउन खुलेसँगै हरेक सामानमा कम्तीमा १० प्रतिशतले मूल्यवृद्धि भएको थियो।

खाद्यान्नमा मात्र नभएर बिस्कुट, कर्नफ्लेक्स, स्याम्पोजस्ता उपभोग्य वस्तुको मूल्य पनि वृद्धि भएको छ। दसैँ तिहारको बेलामा खाद्यान्नमा १० प्रतिशतले मूल्यवृद्धि भएको थियो।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले खानेतेलमा उद्योगअनुसार थोरैदेखि धेरै मूल्यवृद्धि गरेको पाइएको बताए।

‘केही उद्योगले अलि बढी नै बढाएका छन्’, तिमल्सिनाले भने, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भनेर बढाएको देखिन्छ।’