बीमा समिति अध्यक्षको कार्यकाल एक महिनापछि सकिँदै, यी हुन् नयाँ अध्यक्षको चर्चामा

अर्थ बिमा

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल अबको एक महिनापछि सकिने भएको छ । २०७७ साल पुस २२ गतेसम्म मात्रै कार्यकाल भएका अध्यक्ष चापागाईले सोही दिन विदा हुदैछन् । २०७३ साल पुस २३ गते अर्थमन्त्रालयबाट पत्र बुझी बीमा समितिमा अध्यक्ष बनेका चापागाईको चार वर्षे कार्यकाल आगामी पुस २२ गते सकिदैछ । बीमा ऐनमा बीमा समितिको अध्यक्षको कार्यकाल दुई पटक सम्म थप गर्न सकिने व्यवस्था छ ।

यद्यपि सरकारले गर्ने हरेक सार्वजनिक नियुक्तीमा सर्च कमिटीमार्फत खोजी गरी उत्कृष्ट व्यक्तिलाई नियुक्ती गर्नुपर्ने सर्वोच्च अदालतको फैसला अनुसार अर्थमन्त्रालयले प्रक्रिया पूरा गरेर अध्यक्षमा नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार पदावधी सकिनुअघि नै सर्च कमिटी गठन गरी रिक्त भएको एक साताभित्रैमा नयाँ अध्यक्ष नियुक्ती गर्नुपर्नेमा सरकारले हालसम्म पनि सर्च कमिटी गठन गरेको छैन । बीमा क्षेत्र यतिबेला अत्यन्तै तरल अवस्थाबाट गुज्रिरहेको छ । कोरोना बीमाका कारण उत्पन्न भएको छ अर्बभन्दा बढि दायित्वको तनाव एकातिर छ भने अर्कोतिर नयाँ बीमा ऐन निर्माणको काम समेत तीव्र गतिमा अघि बढिरहेको अवस्थामा बीमा समिति लामो समयसम्म रिक्त राख्न नहुने विज्ञहरुको भनाई छ ।

बीमा समितिको अध्यक्ष बन्ने चर्चाका यी नाम
समितिका हालका अध्यक्ष चिरञ्जिवी चापागाईं पनि पुनः कार्यकाल दोहोर्याउन चाहन्छन् । यता, कहिले राष्ट्र बैङ्कको गर्भनर तकहिले बीमा समितिको अध्यक्षको दौडधुपमा रहेको चर्चा चल्ने नेपाल राष्ट्र बैङ्कका डेप्युटी गर्भनर चिन्तामणि शिवाकोटीले गभर्नरको पद नपाएपछि उनी समितिको अध्यक्ष बन्न इच्छुक देखिएको बुझिन्छ ।

यस्तै चर्चाको अर्को नाम कृषि विकास बैङ्कका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाको हो । यद्यपि, आफु कुनै दौडधुपमा नरहेको तर, अध्यक्ष पद पाए खाने मनसाय भने उनको देखिएको छ । यसअघि समितिको अध्यक्षको दौडमा रहेका पोखरा विश्वविद्यालयका एशोसिएट प्रोफेसर डा. रवीन्द्र घिमिरेको नाम पनि चर्चामा छ । पर्यटनमन्त्री योगेश भट्टराई निकट मानिने नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईंको नाम पनि चर्चामा छ । कर्मचारी सञ्चयकोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य पनि समितिको अध्यक्षको लबिङमा रहेको चर्चा छ । यता, नेपाल पुनर्बीमा कम्पनीका संस्थापक सिइओसमेत भइसकेका रमेश लम्साल पनि अध्यक्षका आकांक्षी हुन् ।