नेपालका यी १२ व्यवसाय जसलाई महामारीले असर गरेन

अर्थ उद्योगी ठुला मझौला

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र लकडाउनले धेरैजसो क्षेत्रलाई प्रभावित पर्दा पारेको छ । जसको असर पनि नेपालका कम्पनीलाई असर नपर्ने कुरै भएन।

विश्वबजारमा जस्तै नेपालमा पनि कोरोनाले धेरै व्यवसाय उठ्नै नसक्ने गरी सुताइदिँदा केही व्यवसाय कोरोनाकालमा चम्किन सफल भएका छन्। केही व्यवसाय नचम्किए पनि धान्नै नसक्ने अवस्थामा पुगेका छैनन्।

सरकरको नजरमा न्यून प्रभावित व्यवसाय

अर्थ मन्त्रालयले नेपालका १२ वटा व्यवसायलाई कोरोनाले प्रभावित पार्न नसकेको बताएको छ। मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र त्यसपछिको अवस्थामा केही व्यवसाय चम्किएका समेत छन्। उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत् आयोजनालाई कोरोना कालले असर गर्न नसकेको बताइएको छ।

यस्तै, अनलाइन (ईकमर्स) व्यवसाय, खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण र पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसायसमेत कोरोनाबाट प्रभावित छैनन्। आयातजन्य व्यापार, पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय, औषधि बिक्री वितरण तथा विज्ञापन उद्योगलाई समेत कोभिड(१९ ले प्रभावित नपारेको मन्त्रालयले जानकारी दिएको छ। यसैगरी इन्टरनेट, दूरसञ्चार सेवाप्रदायक कम्पनी, मदिरा तथा सुर्तीजन्य उद्योग व्यवसाय, ढुवानी व्यवसाय तथा सुन, चाँदीका गहना तथा बहुमूल्य पत्थर व्यवसाय समेत प्रभावित छैनन्।