चालिस भन्दा बढी पसलमा कम तौलका ढक तराजु

उद्योगी घरेलु ठुला मझौला समाचार

गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगरका प्रमुख शम्भु कुमार झाको नेतृत्वमा चाडबाड अघि बजार अनुगमन सुरु गरिएको कार्य अझै निरन्तर रहेको छ । सदरमुकाम राजविराजस्थित नुनदेखी सुनसम्मका पसलहरु झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन, राजविराज नगरपालिका कार्यालय, उपभोक्ता मञ्च नेपाल, पत्रकार महासंघ लगायतका प्रतिनिधि सम्मिलित टोलीले बुधबारदेखी सुरु गरेको अनुगमन कार्य केही दिन अझै जारि रहने टोलीका प्रमुख झाले जानकारी दिएका छन् ।

पहिलो दिन नुनदेखी सुनसम्मको १ सय ४० भन्दा बढी पसलमा अनुगमन गरिएको छ । पहिलो दिनको अनुगमनमा पसलमा नापतौलका लागि प्रयोग गरिने ढक तराजुको जाँचलाई प्राथमिकता दिइएको र यस क्रममा माछा हटिया तथा हटिया बजारका अन्य पसलका गरि ४० जना भन्दा बढी व्यवसायीको ढक तराजुमा गडबडी पाइएको टोली प्रमुख झाले जानकारी दिएका छन् ।

ती सबै पसलका ढक तराजु जफत गर्नुका साथै एक पटकका लागि सचेत गराएर सुध्रिने मौका दिइएको टोलीमा सहभागि उपभोक्त मञ्च नेपालका महासचिव शत्रुघनलाल देवले बताए ।

टोलीले सुन पसलहरुमा समेत अनुगमन गरेकोमा केही दर्तै नभई संचालनमा रहेको तथा केही नविकरण नगराइएको पाइएकाले त्यस्ता पसललाई तत्कालै बन्द गर्न लगाई दर्ता र नविकरण गराउन पत्र काटिएको अनुगमन टोलीका प्रमुख झाले बताए ।