कोरोनालाई मैले पछारें कसरी ?

Slider उद्योगी प्रोफाइल मझौला विचार

लकडाउन र निषेधाज्ञाको बेला घरबाट अन्यन्त्र कतै निस्किएको थिइनँ । कोरोना के–कसरी सर्छ भन्नेबारे जानकार नै थिएँ । आवश्यक सतर्कता पनि अपनाएकै हो । जानेसम्म आफूलाई सुरक्षित राख्न खोजेकै हो । तर, कहाँ चुकें थाहै पाइनँ । एक्कासि ज्वरोपछि खोकी लाग्यो । ज्वरो घट्दै घटेन । सामान्यतया यो मौसममा मलाई रूघाखोकी लाग्छ हरेक वर्ष । सोचें– यसैले सतायो । यही अनुमानको भरमा ज्वरो र खोकीको व्यवस्था गर्दै घरमै बसिरहेँ, प्राथमिक र प्राकृतिक उपचार गर्दै गएँ । सोचेको थिएँ स्वास्थ्यमा सुधार आइहाल्छ । चिसो त पसिसकेको थियो । एकाएक मन गहु्रंगो हुन थालेको थियो । यही बीच ४ भदौमा आफ्नै भाइलाई कोरोना भाइरस परीक्षण गराउँदा पिसिआर पोजिटिभ देखायो । एकाघरकै भाइमा कोरोना संक्रमण देखिएर सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा भर्ना भएपछि झन् छट्पटी र बैचनी शुरु भयो । तीन दिनपछि अर्थात् ७ भदौमा वीर अस्पताल पुगें र स्वाब परीक्षण गर्न दिएँ । आफूलाई पनि कोरोना संक्रमण देखिएको (पोजिटिभ) जानकारी पाएपछि शुरुमा आत्तिएँ ।

कोरोना संक्रमण देखिएपछि अस्पतालमै उपचाररत भाइ ध्रुवको अनुभव र सल्लाहबमोजिम घरमै बसेर उपचार गर्ने भएँ । आफूमा कोरोना संक्रमण देखिएको र घरमै बस्न लागेको जानकारी स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको कोभिड केन्द्रलाई गराएँ । तर, १२ गतेबाट श्वास फेर्न कठिन हुन थाल्यो । असजिलो भएपछि स्वास्थ्य मन्त्रालयकै कोभिड बिरामी व्यवस्थापन गर्न खटिएका डा. माधव लम्सालसँग समन्वय गरें । त्यहाँबाट सानेपास्थित मेघा अस्पतालमा भर्ना भएँ । दुई दिन बस्दा पनि त्यहाँका डक्टरले उति चासो देखाएनन् । कोरोना संक्रमित भनेर होला, छेउछाउमै आउँदैनथे डाक्टरहरू । मैले आफ्नो छातीमा समस्या भएकाले निमोनियाको आंशका लागेको सुनाएँ । एक्सरे गर्न आग्रह गरेँ । सुनुवाइ भएन । मेघाले उपचारमा चासो नदेखाएपछि त्यहाँबाट आफूलाई टेकु अस्पतालमा रिफर गरिदिनुहोस् भनँे । १४ भदौमा शुक्रराज ट्रपिकलमा भर्ना भएँ । उपचार शुरु भयो । इमर्जेन्सीमा भर्ना भएको थिएँ । छातीको एक्सरे र सिटिस्क्यान गर्दा निमोनियाको संक्रमण पुष्टि भएपछि आईसीयूमा राखेर उपचार शुरु भयो । अस्पतालमा उपचाररत रहँदा आत्मबल बढाएँँ । चिकित्सकको सल्लाहअनुरूपका गतिविधि गरें आफूलाई भित्रबाट हार्न दिइनँ ।

 

यो समयमा आफन्तको साथ खोज्दोरहेछ मनले । तर, नातेदार कसरी भेट्न आउन् ? भन्छन् नि, खाली दिमाग सैतानको घर । मनमा चाहिने/नचाहिने अनेकन तर्कना खेल्थे । कोही आफन्त, साथीभाइ आत्तिनु हुँदैन भन्ने प्रेरणा दिन्थे तर एक्लो हुँदाको मन बेचैन बन्दोरहेछ । मास्क र पञ्जा लगाए पनि दोबाटोमा कुर्दै बसेको कोरोना संक्रमित भएँ म । हात धोई स्यानिटाइजर लगाए पनि ५३ हजार १ सय २० संक्रमितमध्ये एक भएँ । तातोपानी र बेसारपानी पिएर पनि बच्न नसकी प्रभावित भएँ ।
मलाई कोरोना संक्रमण भएपछि केही शिक्षित साथीहरूकै फरक व्यवहार अनुभूत गरें । कोरोना संक्रमितलाई बढीभन्दा बढी हौसला र मनोबल आवश्यक पर्छ तर हाम्रो समाजले यसको ठीक उल्टो व्यवहार गर्छ । अरू समय प्रायः फोन गरिरहने साथीहरूले पनि ममा कोरोना संक्रमण भएपछि फोन गर्न छाडे । उनीहरूको व्यवहार यस्तो थियो कि मानौंं फोनबाटै कोरोना सर्छ । बोल्नसमेत खोजेनन् । यो दश दिने अस्पताल बसाइको क्रममा एक जना कोरोना संक्रमितका लागि आफन्तको साथ–सहयोग कति महत्वपूर्ण हुने रहेछ अनुभव गरेको छु । सात दिनपछि केही तंग्रिएँ । दोस्रो पटक १९ गते र तेस्रो पटक २१ गते स्वाब परीक्षण गर्न दिएँ । दुवै पटक रिपोर्ट नेगेटिभ आयो । तर, शरीरमा सुगरको असन्तुलनले गर्दा तत्कालै डिस्चार्ज भएन । अस्पताल भर्ना भएको १० दिनपछि २४ गते डिस्चार्ज भएँ । अहिले घरमै आराम गरिरहेको छु ।
कोरोना लाग्नेबित्तिकै मरिहालिन्छ भन्ने एक किसिमको भ्रममा छौं हामी । तर, त्यसो होइन रहेछ । शुरुमा कोरोना पोजिटिभ हुँदा झसंग भएको थिएँ । तर, यसलाई जित्न सकिन्छ र जित्छु भन्ने आत्मविश्वासले घर फर्किएको छु । कोरोना संक्रमितहरू सामाजिक तिरस्कारको डरले पनि कमजोर भएका हुन् । संक्रमण भएका बेला आफन्तको र सामाजिक हौसला आवश्यक पर्दाेरहेछ । सबैभन्दा ठूलो त आत्मबल नै हो ।

सकारात्मक सोचबाटै आत्मबल प्राप्त हुने हो । मुख्य कुरा म तन्दुरुस्त छु, मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र संक्रमण भइहाल्यो भने हेलचेक्र्याइँ पनि नगर्नुहोला ।

कोरोना संक्रमितलाई हौसला र मनोबल आवश्यक पर्छ तर समाजले यसको ठीक उल्टो व्यवहार गर्छ । त्यसैले कोरोना संक्रमित भाइरसले भन्दा पनि सामाजिक तिरस्कारको डरले आत्तिएर बढी बिरामी भएको हो कि जस्तो लाग्छ । संक्रमितलाई परिवार र समाजको साथ चाहिन्छ, तिरस्कार होइन ।

कोरोना भाइरसबाट संक्रमित हुँदैमा मरिन्छ भनेर डराइहाल्नु पर्दैन बरु आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक खाना खानुका साथै चिकित्सकको सल्लाहअनुरूप गतिविधि गर्दा यो रोगसँग जित हासिल गर्न सकिन्छ । अहिले सारा विश्वलाई पिरोलेको कोरोना संक्रमणको जोखिम र सम्भावना सबैलाई छ । त्यसैले हामी आतंकित हुने होइन, तिरस्कार गर्ने होइन, हौसला र मनोबल बढाउन आवश्यक छ । संक्रमितले पनि कोरोनालाई जित्छु भनेर आत्मविश्वास राख्नु जरुरी छ ।
आज म कोरोना संक्रमित भएँ । भोलि तपाईहरु पनि हुन सक्नुहुन्छ । तसर्थ कोरोनाको सन्दर्भमा रहेका गलत बुझाइलाई हटाउन सबैले सहयोग गरौं । अनि संक्रमितलाई सामाजिक घृणा होइन, माया र सद्भाव दिऔं । हौसला पाएरै अहिले ३७५२४ संक्रमितहरू घर फर्किएका छन् । उसैगरी त्यही संख्यामा थपिनेछन् तपाईं–हाम्रा आफन्त, इष्टमित्रहरू पनि ।

(पर्यटन व्यवसायी लामिछानेसँगको कुराकानीमा आधारित)