अग्नी, सर्वोत्तम लगायतका सिमेन्ट गुणस्तरहीन, रिलायन्स र इन्टरनेशनलको इजाजतपत्र रद्ध

उद्योगी घरेलु ठुला प्रशासन मझौला

नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड अनुसार उत्पादन नगर्ने ६ उद्योगहरुलाई कारवाहीको डण्डा बर्साएको छ । कारवाहीमा परेकामध्ये ४ वटा सिमेन्ट उद्योग छन् । तोकिएको गुणस्तर पुरा नगरेको भन्दै विभागले रिलायन्स सुपरटेक सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, अग्नी सिमेन्ट, सर्वोत्तम सिमेन्टलाई कारबाही गरेको हो ।

विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो । कारवाहीमा परेकामध्ये रिलायन्स सुपरटेक सिमेन्ट प्रालि बारा, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, एभरेष्ट ग्यास उद्योग प्रालि चाल्नाखेल काठमाडौँ, अग्नि सिमेन्ट उद्योग प्रालि रुपन्देही, सर्वोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमला रोलिङ्ग मिल्स मोरङका हुन ।


विभागले रिलायन्स सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेष्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरेको छ । यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जनाए ।
विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगी गर्ने उद्योग पहिचान गर्न केही दिन पहिला देशभरका झण्डै १०० उद्योगबाट नमूना सङ्कलन लिएको थियो ।