मस्जिदमा आश्रय लिएर बसेका छ विदेशी क्वारेन्टाइनमा, सबै मस्जिद सिल गरियो

समाचार

सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमा आश्रय लिएर बसेका ६ विदेशीलार्ई शुक्रबार क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बिजी अस्पतालको क्वारेन्टाइनमा राखिएको नेपाल मुस्लिम संघ १ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताए ।
उनीहरुलाई आवश्यक परीक्षणका लागि त्यहाँ राखिएको जनाइएको छ । मस्जिदमा भारतका मुम्बई, पटना, इलाहावादलगायत स्थानबाट आएका र दुई नेपालीसमेत छन् ।
यसैबीच प्रदेश नं १ का मस्जिद, मदरसा र छात्रावासमा बस्दै आएका मानिसलाई खाली गर्नका लागि नेपाल मुस्लिम संघले आग्रह गरेको छ । प्रदेशका मस्जिद, मदरसा र छात्रावासमा आवश्यक कर्मचारी, एमाम र मोअज्जिनबाहेक अन्यलाई नबस्नका लागि आग्रह गरिएको सचिव नइम अन्सारीले बताए ।

मुसलमान समुदायको प्रतिष्ठा बचाउन र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी अपनाउन आग्रह गरिएको अध्यक्ष मन्सुरीले जानकारी दिए । सातबुँदे अपिलमा कोही मस्जिदलगायत ठाउँमा बसेका भए प्रहरी वा स्थानीय सरकारलाई खबर गरी क्वारेन्टाइनमा बस्न भनिएको छ ।

इटहरीका सबै मस्जिद सिल गरियो
उदयपुरमा १२ जनालाई कोरोना संक्रमणपछि इटहरीका सबै मस्जिद सिल गरिएको छ। यहाँका विभिन्न मस्जिदमा बाहिरी देशका मुस्लिम धर्मावलम्बीहरु हुनसक्ने र कोरोना भाइरस संक्रमणको सम्भावना उच्च रहेको भन्दै इटहरीमा अवस्थित सबै मस्जिदहरु सिल गरिएको छ।

केही दिनअघि मात्रै वीरगञ्जमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएका नागरिकहरु सुनसरीको दुहवी र इनरुवाको मस्जिदमा बसेको खुलेको थियो। इटहरी उपमहानगरपालिकाकी उप प्रमुख लक्ष्मी गौतमका अनुसार शुक्रबारदेखि नै यहाँका सबै मस्जिद खाली गरी त्यहाँ भएका मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ। यहाँ रहेका १४ वटा मस्जिद प्रशासनको प्रत्यक्ष निगरानीमा सिल गरिएको गौतमले बताइन्।