उद्योगी व्यवसायीका काममा सरकारले कुनै अवरोध नगर्ने ः उद्योग मन्त्री

उद्योगी ठुला समाचार

उद्योग वाणिजय संघ चितवनको ५३ औं वार्षिक साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगी व्यवसायीका काममा सरकारले कुनै अवरोध नगर्ने प्रतिबद्धता जनाएका छन् ।

“औद्योगिक नीतिबारे सुझाव दिनुहोस्, आवश्यक परे संशोधन गर्न तयार छौँ”, उनले भने, “लगानीका लागि अनुकूल छैन भने परिमार्जन गर्न तयार छौँ, कानुन, ऐन, नीति परिमार्जन गर्न संशोधन गर्न तयार छौँ ।” निजी क्षेत्रका उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मस संस्थालाई सामूहिक छलफलबाट तयार हुने निष्कर्षबारे मन्त्रालय छलफल गर्न तयार रहेको बताए । “छलफल गरेर नीति र ऐन सुधारबारे एकमत भएर सुझाव ल्याउनुस्”, उनले भने, “समस्या समाधान गर्न पछि हट्ने हुनेछैनौं ।” उनले सरकारी स्वामित्वका उद्योग, निजी क्षेत्रका उद्योग रुग्ण हुनुका कारणबारे अध्ययन गर्न विज्ञसहितको कार्यदलले छिट्टै अध्ययन थालिने बताए ।

“रुग्ण उद्योगलाई चलाउन तयार छौं, वातावरण बनाउन लाग्नेछौं”, मन्त्री भट्टले भने, “आन्तरिक लगानी बढाउने वातावरण बनाउने सोचमै सरकार रहेको छ ।” उनले बाह्य लगानी मात्रै बढाएर समृद्धिको दिशामा मुलुक बढाउन नसकिने बताउँदै उनले भने, “स्वदेशी उद्योग व्यवसायमा आकर्षण बढाउने उपायको खोजिमै छौँ ।” उनले उद्योग व्यवसायमा रहेका कमीकमजोरीसमेत सुधार गर्न स्वयम् उद्योगी व्यवसायीको सहयोग आवश्यक रहेको बताए । उनले खाद्यान्न अभाव हुन नदिन सरकारले पहल सुरु गरेको दाबी गरे । उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न सरकारले पहल थालेको बताए । “नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी गठन भएको छ, साल्ट ट्रेडिङ पनि सञ्चालनमा छ”, उनले भने, “यी संस्थामार्फत बजारमा हस्तक्षेप गरिनेछ”, उनले भने, “बजारीकरणको काम पनि हुनेछ, कृत्रिम अभावको समस्या पनि हट्ने विश्वास लिएका छौं ।”