पर्यटन बर्ष २०२० र लाङटाङको अवस्था

पर्यटन प्रदेश ३

राजधानी काठमाडौँबाट दुरीका हिसाबले नजिकै रहेको सुन्दर हिमाली जिल्ला रसुवा पर्यटकीय महत्वका दृष्टिले नेपालकै प्रमुख जिल्ला मध्ये एक हो । यो जिल्ला अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । रसुवा सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यका हिसाबले हिमाली पदयात्राका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य मानिन्छ । याँहाका हिमाल, तालतलैया, बन्यजन्तु,तामाङ जातिको भाषा, धर्म, रहनसहन र संस्कृतिले यो जिल्लालाइ पर्यटकीय गन्तव्यको महत्वपूर्ण क्षेत्रको रुपमा चिनाएको छ । रसुवा जिल्ला सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले निकै धनी मानिन्छ । धार्मिक कुण्ड, हिमशृङखला, दुर्लभ बन्यजन्तु र तामाङ सस्कृतिका कारण रसुवा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको छ । दुर्लभ जंगली जनावर, जडीबुटी र जलबिधुतका कारण समेत रसुवा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ । यो जिल्ला कुण्ड नै कुण्डको जिल्लाका नामले समेत प्रसिद्ध छ ।


पर्यटनका दृष्टिले रसुवालाई नेपालकै एक नमुना जिल्लाका रुपमा पाउन सकिन्छ । धार्मिक रुपले प्रसिद्द गोसाईकुन्ड, पार्वा््ितकुण्ड, दुधकुण्ड, भैरबकुण्ड लगायतका कुन्डहरु यसै जिल्लामा पर्दछन भने लाङटाङ हिमाल र गणेश हिमाल यहाका पर्यटकीय गन्तव्यका अर्को महत्वका क्षेत्र हुन् । रसुवा जिल्ला भौगोलिक विकटताका कारण पछाडि रहे पनि यहाँका अनगिन्ती पर्यटकीय सम्पदाका कारण निकै धनि छ । यहाँ विश्व मानचित्रमा समेत समावेश भएका कतिपय सम्पदाहरू छन् । जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वती कुण्ड, पार्वतीकुण्ड, सुर्यकुण्ड, नौकुण्ड, तातोपानी जस्ता कुण्डहरु यहाका महत्वपूर्ण सम्पदाहरु हुन् । यहाका कुण्डहरुमा स्नान गर्दा पुन्य प्राप्ति हुने जनविश्वास छ । हिमाली क्षेत्रको जैविक विविधता, विभिन्न किसिमका जडीबुटी, वन्यजन्तु र चराचुरुंगीलगायतले जिल्लाको गौरव बढाएका छन् । तीमध्ये पर्यटकीय एवं आर्कषणको केन्द्रबिन्दु लाङटाङ एक प्रमुख सम्पदा हो । लाङटाङ नेपालकै पर्यटकीय क्षेत्रको तेस्रो गन्तव्य मानिन्छ ।
सदावहार हिमशृंखला लाङटाङ लिरुङ हिमाल समुद्री सतहबाट ७ हजार २ सय ४६ मिटरको उचाइमा अवस्थित छ । लाङटाङको चीनसँग सिमाना जोडिएको छ । लाङटाङको क्यान्जिङ उपत्यका अति रमणीय स्थल मानिन्छ । लाङटाङमा आउने स्वदेशी तथा विदेशी पर्यटक मुख्यतया क्यान्जिन उपत्यकामा नै बस्ने र हिमशृंखलाको मज्जा लुट्ने गर्छन् । लाङटाङ पुग्नका लागि राजधानीबाट स्याफ्रुसम्मको सवारी यात्रापछि पैदलयात्रा अनिवार्य रहेको छ । त्यसको लागि ७ देखि १० दिन सम्म लाग्ने गर्दछ ।


अग्ला चुचुराका आसपासमा अवस्थित लाङटाङ उपत्यकाले इतिहाँसदेखि नै स्वदेशी तथा विदेशी पर्यटक र त्यहाँका स्थानीयलाई आश्रय मात्र दिएन, शैक्षिक तथा जीवन सुधारमा नवपिँढीलाई विदेश गमनको मार्ग पनि खुल्ला गरिरहेको छ । कोही विदेशी अतिथिका सहयोगले त कोही आफ्नो सुदृढ आर्थिक अवस्थाका कारण डाक्टर, पाइलट पनि बनेका छन् । जलविद्युतको प्रवल सम्भावना र जैविक विविधताले परिपूर्ण भएर विश्व मानचित्रमा टल्किरहेको छ लाङटाङ ।
यहाँका पर्यटकीय प्रवल सम्भावना पनि लाङटाङका गगनचुम्बी श्रृङ्खलासँगै चम्किरहेका छन, यहाँको विकासका सम्भावना वा भोलिको लाङटाङको मुहार सबैले झल्झली देखिरहेका छन् । फरक भू–बनोट, भाषा, संस्कृति अनि पृथक पहिचान बोकेको लाङटाङ सबैको इमान्दार प्रयासबाट तेस्रो पर्यटकीय गन्तव्य ओगटिरहन सक्दछ । यसमा दुईमत छैन ।
पहिलो हिमाली निकुञ्जको नामले मात्र हैन सायद नेपालमै पहिलो पटक याक चिज उत्पादन गर्ने ठाउँको नामले पनि परिचित छ लाङटाङ । पछिल्लो समयमा माउन्टेनियरिङ स्कूल निर्माण हुने कुराले पनि लाङटाङले झन् चर्चा पाउँदैछ । छिमेकी मुलुक चीनसँग कठालोमा बाँधिएको मुलुकको तेस्रो गन्तव्यले सांस्कृतिक, ऐतिहाँसिक, धार्मिक, पर्यटकीय तथा पर्यावरणीय यी सबै विधालाई उत्तिकै महत्व राख्दछ । यही क्षेत्रको गोसाइँकुण्डमा हुने धार्मिक मेला, क्याञ्जिन उपत्यकामा नाँचिने डुक्पा छेच्यु र यसका आपपासमा मनाईने विभिन्न सांस्कृतिक पर्व, कला संस्कृति तथा परम्पराले पर्यटकीय सम्बन्ध अझ गाढा र नजिक बनाउँदछ । विश्वमा नै दुर्लभ मानिएका रातो हाब्रे, हिमचितुवालगायतका जंगली जनावर, लालीगुँरास, लाङटाङे सल्लो तथा विविध प्रजातिका दुर्लभ वनस्पति अनि हिमश्रृङ्खला, नदीहरू र रामसार सूचिमा परेको गोसाइँकुण्ड ताल यहाँका आकर्षणका केन्द्रविन्दु हुन् । यी सबैको उचित संरक्षण तथा व्यवस्थापन हुन सके युगौंसम्म धरतीभरिका आगन्तुकलाई डाकिरहनेछ यस क्षेत्रले ।
यहाँको पर्यटन व्यवसायलाई दिगो बनाउन सम्भावनासँगै चुनौतिहरू पनि त्यत्तिकै छन् । घुम्न आउने पर्यटक हराउनु, मृत भेटिनु र मृत वा हराएको के हो भन्ने थाहा नै नपाउनु यहाँको पछिल्लो समयको समस्या हो । यहाँका पर्यटकीय बेजोड आनन्दलाई चुम्न आउने पर्यटक वा प्रमुख आर्जनको माध्यम बनेको पर्यटकको आवागमनमा यसरी चुनौति आउनु यहाँ रहेका वा कल्पना गरिएका तेस्रो गन्तव्य विकासमा काँडे तगारो नै हो । संसारका जो कोही पनि यहाँ एक्लै वा सजिलै गन्तव्यमा पुग्न पाउनु व्यक्तिगत अधिकार पनि हो । केहि वर्ष अगाडी घाँटी छिनालिएकी बेल्जियमकी नागरिक डेभी माभ्युको काण्डले झन् पर्यटक तथा पर्यटन व्यवसायीमा सन्त्रास फैलिएको छ । उनको हत्या अहिलेसम्म रहस्यमय नै छ । त्यस्तै अमेरिकी ओब्री क्यारोलिन स्याको पनि २०६७ बैशाख ७ गतेदेखि हराईरहेकी छिन् । यहाँका पर्यटन व्यवसायमा लाग्ने वा शुभचिन्तकहरूको लागि यस्ता घटनाले सँधै पिरलिरहेको छ ।
रसुवामा पर्यटकीय गतिविधिका लागि तीन मार्गहरू छन् । एउटा तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ, गोसाइँकुण्ड क्षेत्र, दोस्रो केहि बर्ष अगाडी विकास भएको तामाङ सम्पदा मार्ग र अर्को कहिलेकाँही क्याम्पिङ चल्ने वा सम्भावित विकासोन्मुख मार्ग लोकिल, सिपाङ, यार्सा मार्ग । पर्यटकीय क्षेत्र तथा तामाङ बस्तीमा वनजन्य सम्पदाको अधिकतम प्रयोग हुने गरेको छ । खाना बनाउन तथा उच्च भेगमा कोठा तातो बनाउन दाउराको प्रयोग अत्याधिक हुनु यहाँको अर्को चुनौति हो । चोरी सिकार तथा अवैध व्यापार अनि यहाँ उत्पादन हुने फोहोर मैला व्यवस्थापन नहुनुले पनि चुनौतिको संख्यालाई बढाईरहेको पाईन्छ । खानाको उच्च मूल्य हुनु वा मूल्य अनुसार खानाको आकार सानो हुनलाई पनि चुनौति मान्न सकिन्छ । यसरी हेर्दा थुप्रै चुनौतिहरू रहेपनि त्यसका समाधान भने नभएका हैनन् । पर्यटक हराउने वा मृत भेटिने घटनाका विषयवस्तुलाई लिएर विभिन्न व्यक्ति, कम्पनी तथा निकायले पर्यटकहरूलाई एक गाईड वा भरिया अनिवार्य लिएर जाने नियम बनाउनु पर्छ पनि भनिरहेका छन् ।
पर्यटकको सुरक्षाका निमित्त गाईड अथवा भरिया अनिवार्य भन्नु भन्दा पनि नेपाली होस् या विदेशी जो कोही पनि खाम्जिङबाट शेर्पा गाउँ जाँदा भीरमा हराउनु भएन, तियारीको बगरबाट चन्दबारी जाँदा घाँटी रेटिनु भएन र घोप्टेभिरबाट सहजै मेलाम्चीको पाखाहरूमा पुग्नु प¥यो । इन्धनको प्रयोगले जैविक विविधताको संरक्षणमा देखिएको चुनौति कम गर्न नवीकरणीय उर्जा प्रविधिको विकास गरी प्रयोग गर्न सकिन्छ । वातावरणीय ह्रास आउने गतिविधि फोहोर मैला उचित व्यवस्थापन तथा पुन प्रयोगका लागि अभ्यास गर्न सकिन्छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको दिगो पर्यटन व्यवसाय सञ्चालन गर्नका लागि व्यवसायीहरूको पनि लगानी जुटाउनु आवश्यक छ । पर्यटन व्यवसायमा लागेका जो कोहीको पनि जीवनयापन अत्यन्त सहज, सरल र सुविधायुक्त छ । यही पर्यटन व्यवसायबाट आफ्नो जीवनशैली र सामाजिक प्रतिष्ठा उच्च बनाउने वा बनेकाहरूले यसमा ध्यान दिनु अपरिहार्य छ । गर्दा नहुने कुरा केही छैन, मात्र छ इमान्दार प्रयासको खाँचो ।