राई ब्रोको ठगी धन्दाः मिस राई–२०१८ का विजेताहरुलाई न पुरस्कार न प्रमाणपत्र !

कला/साहित्य देश माेडल समाचार

काठमााडौं । १४ जना प्रतिस्पर्धीबाट प्रतिव्यक्ति १५ हजार रकम उठाइयो । मिस राई पनि घोषणा गरियो । तर, प्रतियोगिता सकिएको दुई वर्ष बित्दा पनि उपहार हातमा छैन । न आयोजकले फोन उठाउछन् न रिप्लाई नै दिन्छन् । कहाँ छन् ? के गर्छन् ? अत्तोपत्तो छैन । मिस राई–२०१८ सम्पन्न भएयता मिस राई सञ्चालन हुन नसक्दा एउटा रहस्यमय घटना बाहिर आएको छ ।

किरात (राई) हरुको पहिचान चिनाउने हिसाबले २०१२ देखि प्रत्येक वर्ष आयोजना हुनुपर्ने भएपनि बीचमा बीचमा अड्किदै आयोजना हुँदै आइरहेको मिस राई अहिले स्थगित छ । २०१८ मा मिस राई सम्पन्न भए यता प्रतियोगिता आयोजना हुन सकेको छैन । मिस राई सम्पन्न नहुनु त स्वभाविकै हो तर, पूर्वमिस राईका विजेतालगायत प्रतिस्पर्धीहरुलाई नै पुरस्कार वितरण गरिएको छैन । मिस राई–२०१८ सम्पन्न भएको दुई वर्ष बितिसक्यो तर, बिजेतालगायत कसैलाई पुरस्कार दिइएको छैन । बिजेता टिमले आयोजकलाई फोन सम्पर्क त गर्छन् तर, लाग्दैन । मिस राई–२०१८ सम्पन्न भएपछि एक चोटी टप फाइभको टिमसहित छलफल त भयो तर, उपहार कहिले दिने ? भन्ने विषयमा टुंगो लागेन । त्यसपछि टप फाइभका विजेताहरुले फोन सम्पर्क पनि गरे ‘उपहार कहिले दिनुहुन्छ सुवास दाई ?’ भनेर तर, पछि फोन नम्बर नै परिवर्तन भयो ।

फरार आयोजक
मिस राई–२०१८ का आयोजक हुन्, किरात राई मौलिक संस्कृति केन्द्रका अध्यक्ष सुवास राई (अर्पण राई) । विगतका मिस राईका केही एपिसोड आयोजना गर्दा किरात यायोक्खासँग पनि सहकार्य गरेर गरिएको थियो तर, पछि विवाद मच्चिएसँगै किरात राई मौलिक संस्कृति केन्द्रले मात्र एक्लौटी रुपमा प्रतियोगिता आयोजना गर्दै आएको छ । मिस राई २०१८ कि बिजेता हुन्, खोटाङकी एन्जल राई । फस्र्ट रनरअप प्रभा राई, सेकेन्ड रनरअप श्रद्धा राई र थर्ड रनरअप पवित्रा राई । बिजेतालाई स्कुटर र त्यसपछि क्रमशः फस्र्ट रनरअपलाई आइफोन, दोस्रो र तेस्रो विजेतालाई सीटीभी मोबाइल पुरस्कारको व्यवस्था थियो । तर, प्रतियोगिता सकिएको दुई वर्ष कटिसक्दा पनि कसैलाई पनि पुरस्कार दिइएको छैन । आयोजकले न फोन उठाउछन् न फोन लाग्छ । फरारझैँ छन्, फेसबुकमा राई ब्रो नामले चिनिने आयोजक सुवास राई ।

यो त्यहिँ दृश्य हो, जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस राई–२०१८ को कार्यक्रमको । उद्घोषक थिए कलाकार दिनेश डिसी । उनकै छेउ भागमा उभिएका छन्, पाँच सुन्दरी । उनीहरु बडो धैर्यतापूर्वक आफ्नो नतिजा कुरिरहेका छन् । कुर्चीमा आसिन दर्शकहरु आफ्नो मनपर्ने कन्टेसटेन्ट सुन्दरीहरुको नाम लिँदै कराइरहेका छन् । थर्ड रनरअप, सेकेन्ड रनरअप, फस्र्ट रनरअप हुँदै बिजेता सुन्दरीको नाम पनि घोषणा गरिन्छ । स्टेजमा उभिएका उनीहरुको फोटो खिचिन्छ । तर, सुन्दरीहरुलाई कसैलाई उपहार दिइएको छैन । केवल डम्मी उपहार दिइएको छ ।

के भन्छन्, प्रतियोगीहरु ?
१६ वर्षमाथिका पाँच फिट उचाइ भएका १४ जना किशोरीहरु छनोट गरेर एक महिनाको अन्तरालपछि २०१८ को मिस राई घोषणा भयो । तर, मिस राई छनोटमा धाँधली र बार्गेनिङ पनि चलेको स्रोत बताउँछ । सन् २०१२ देखि औपचारीक रुपमा सुरुवात भएको मिस राई–२०१८ की बिजेता एन्जल राईसँग उपहार उपलब्ध नगरिएको विषयमा फोन सम्पर्क गर्दा कार्यव्यवस्तताका कारण फोन उठेन । फस्र्ट रनरअप प्रभा राईले मिस राई–२०१८ का बिजेताहरु कसैलाई पुरस्कार नदिएको स्वीकार गर्दै भनिन्,‘प्रतियोगिता सकिएपछि पुरस्कार दिने आयोजकले जानकारी दिएको थियो त्यतिबेला । प्रतियोगिता सम्पन्न पछि पनि आयोजक सुवास दाईसँग छलफल भएको थियो हो । उहाँले केही समयमै पुरस्कार दिने बाचा गर्नुभयो । तर, अहिले सम्पर्कबिहीन हुनुहुन्छ । फोन उठ्दैन ।’

त्यस्तै, मिस राई–२०१८ कि सेकेन्ड रनरअप श्रद्धा राई भन्छिन्, ‘आयोजकले पुरस्कार दिनुपर्ने हो तर, दिएको छैन । एकचोटी यो विषयमा सबैजना (चार) जना जम्मा भएर पुरस्कारको विषयमा कुरा गर्ने सोच पनि बनाएका थियौँ तर, त्यत्तिकै हुन पुग्यो । प्रतियोगिता सम्पन्न भएको दुई वर्ष बित्यो तर, अहिलेसम्म पुरस्कार पाउने नपाउने ? केही जानकारी दिइएको छैन ।’

थर्ड रनरअप पवित्रा राई त झनै मिस राई–२०१८ को विषयलाई लिएर आयोजक टिमसँग रुष्ट छन् । त्यसो त मिस राई सम्पन्न भएपछि उनले मिडियामा आयोजकप्रति दिएको रुखो बोलीले आयोजक बिच्किन पुगेको थियो । उनले मिस राईभित्र देखिएका बाधा अवरोधहरु मिडियासामू पोखेसँगै आयोजक उनीप्रति रुष्ट हुन पुगेको थियो । त्यसो त उनले मिस राई–२०१८ को विषयमा कुराकानी गर्दा पनि थुप्रै समस्याहरु र्आँल्याइन् । उनले मिस राईको अडिसनदेखि अन्तसम्मका विकृतिहरु खुलस्त पारिन् । उनको कुरा सुन्दा लाग्थ्यो, यो मिस राई होइन कुनै रकम कुम्ल्याउने काइदाको धन्दा रहेछ ।

प्रमाणपत्र नै दिइएन
बच्चालाई ललिपप देखाएझैँ आयोजना सम्पन्न गरिएको मिस राई–२०१८ का विजेताहरुलाई उपहार दिनु त परकै कुरा भयो उनीहरुलाई प्रमाणपत्रसमेत थमाइएको छैन । उपहार दिन नसकेपनि प्रमाणपत्रचाहिँ दिउन भनेर आयोजक अर्पण राईका दाईले बिजेतामध्ये एक जना फोन सम्पर्क गरी प्रमाणपत्र दिने भने पनि पछि त्यत्तिकै टारे । चाबहिलमा रहेको आयोजक केन्द्रका अध्यक्ष हुन्, अर्पण राई । उनी यतिसम्मका धुर्त छन् कि भन्नलाई चाहिँ किरातीहरुको पहिचानको उजागर गर्ने हेतुले मिस राई आयोजना गरेको ठीक्क पार्छन् तर, भित्र उनको ठगी धन्दा बेग्लै रहेछ । जब कि अहिलेसम्म विजेताई प्रमाणपत्रसमेत दिएका छैनन् । फोन सम्पर्क गर्दा फोन स्वीच अफ भन्छ । उनी कहाँ छन् ? के गर्छन् ? यस विषयमा प्रतियोगीहरुलाई सोधपुछ गर्दा अनभिज्ञ रहेको सुनाउँछन् ।

उपहार लिने कि नलिने
‘अब आयोजकले दुई वर्षसम्म उपहार दिएन के गर्नुहुन्छ, लिनुहुन्छ कि माया मार्नुहुन्छ ?’ विजेता एन्जल राईबाहेक सबैको एउटै स्वर छ–अब त कुरा गर्नु पनि लाजै मर्दो छ । बाहिर ‘ऊ त मिस राई’ हो नि भनेर औँलाले देखाउँछन् तर, आफूचाहिँ मुख छोपेर हिँड्नुपरेको छ । साह्रै बेइजत । फस्र्ट रनरअप प्रभा राई उपहारको विषयमा केवल टाउकोमाथि क्राउनमात्र भिराइदिएको सुनाउँछन् । उनी भन्छन्,‘अब पुरस्कार बोलाएर दिए पनि ठीकै छ । तर, त्योभन्दा पनि लाजमर्दो भइने डर छ ।’ अगुल्टो साप्ताहिक पत्रिकासमक्ष मिस राई–२०१८ की टप टेन यशोदा राई भन्छिन्,‘मिस राई चाहेर पनि सम्झिन मन छैन ।’